भारतले सीमा मिचेर पूर्वप्रधानपञ्चकै घर भारततिर परिसक्दा पनि सरकार बोल्दैन

भारतले सीमा मिचेर पूर्वप्रधानपञ्चकै घर भारततिर परिसक्दा पनि सरकार बोल्दैन
इटहरी, २५ साउन । सुनसरीको तत्कालीन श्रीपुर गाउँ पञ्चायतमा चारपटक प्रधानपञ्चमा भएका अबधनारायण मरवैताको घर अहिले भारतको बिहार राज्यअन्तर्गत वीरपुर नगरपालिकामा परेको छ । पुर्ख्यौली घर भएको गाउँको सीमा भारतले मिचेपछि आफ्नो घर मुलुकबाहिर परेको उनले बताए । यस विषयमा पटक पटक स्थानीय प्रशासन र राजनीतिक नेताहरुलाई जानकारी गराए पनि यसबारे कसैले चासो नदिएको उनले गुनासो गरेका छन् ।
२०१८ सालमा भएको गाउँ पञ्चायतको पहिलो निर्वाचनमा उनी तत्कालीन श्रीपुर गाउँ पञ्चायतका प्रधानपञ्च चुनिएका थिए। त्यसपछि तीनपल्ट उनी प्रधानपञ्च भए।
उनले प्रधानपञ्च जित्दा जुन घर थियो त्यो हाल बिहारको सुपौल जिल्लाको वीरपुर नगरपालिकामा परेको छ। उनले भारत सरकारले श्रीपुर गाविसका सीमास्तम्भ बेपत्ता पारी नेपाली भूमि अतिक्रमण गर्दा यस्तो अवस्था आएको बताए।
अन्नपूर्ण पोष्ट लेख्छः सुनसरीको श्रीपुर गाविस-१ मा त्यतिबेला अनकण्टार जंगल थियो। तर अहिले उक्त जंगल मासेर भारतले अतिक्रमण गरी बस्ती बसाएपछि नेपालको सयौं बिघा जमिन भारतमा परेको अवधनारायणले बताए।
उनले भने, ‘उतिबेला नेपाल-भारत सिमानामा काठका सीमास्तम्भ थिए। त्यसैले नेपाल भारतको सिमाना छुट्याउँथ्यो। भारतले काठका पिल्लर गायब पारेर पछिल्लो समयमा सिमेन्टको सीमास्तम्भ बनायो र मेरो घर भारतीय भूमिमा देखाइयो।'
१९९४ सालमा नेपालको श्रीपुरमा जन्मिएका अवधनारायणले भारतको वीरपुरबाट म्याट्रिक (एसएलसी) पास गरेका छन्।'म स्कुल पढ्न जाँदा मेरो घरसहितको यो पूरै जमिन नेपालमा थियो। घरनजिकैको जंगल नेपालकै थियो', उनले बाल्यकाल सम्झँदै भने । अहिले आफू बसेको घरजग्गा भारतमा परेपछि आश्चर्यमा परेको उनले बताए।