कोरियामा ११ नेपाली मजदूर पक्राउ


सोल, श्रावण २८ - दक्षिण कोरियामा ११ जना नेपाली मजदूर पक्राउ
परेका छन् । भिसा अवधि सकेर अबैधानिक रुपमा काम गर्दै आएका
उनीहरुलाई बिभिन्न स्थानबाट प्रहरी र अध्यागमन विभागका
कर्मचारीले पक्राउ गरेका हुन् ।
गए राती ख्यंगी प्रान्तको आनसान हाङजी
अपार्ट नजिकै रहेको छजाङ छङइल नामक मोटर पार्ट बनाउने कम्पनीमा
कार्यरत चार जना अबैधानिक नेपाली कामदारलाई प्रहरीले
पक्राउ गरि अध्यागमन बिभागमा बुझाएको थियो ।
उनीहरु मध्ये दुई जना रोजगार अनुमति प्रणाली (ईपिएस)
मार्फत आएर भिसा अबधि सकिएका हुन् भने अन्य दुई जना डिपेन्डेन भिसामा कोरिया
आएको त्यहा कार्यरत एक नेपालीले बताए ।
उक्त कम्पनीमा १ महिनाअघि कास्की लेखनाथ १२ का
भवीश्वर गुरुङको सुतेकै अवस्थामा मृत्यु भएको थियो । गुरुङ पनि
अबैधानिक थिए ।
त्यस्तै ख्यङसाङ प्रान्तको थेगु नजिकैबाट डाईकस्टिङ कम्पनीमा
कार्यरत ७ जना नेपाली कामदार पक्राउ परेका छन । अध्यागमन बिभागको
कर्मचारीले गत सोमबार दिउसो २ बजे उनीहरुलाई पक्राउ
गरेको हो । पक्राउ पर्ने मध्ये ३ महिला ४ पुरुष कामदार छन् । अध्यागमनका
कर्मचारीले ५ जनालाई कम्पनीमा काम गरिरहेको अवस्थामा र
२ जना राती काम गरेर सुतिरहेको अवस्थामा पक्राउ गरेको थियो ।
अर्को एक जनालाई पक्राउ गरे पनि कोरियन अनुहार भएकाले छोडेको नजिकै
कम्पनीमा कार्यरत एक नेपालीले बताए । बाहिरबाट अरुले
उजुर गरेपछि अध्यामगनका कर्मचारी आएर नेपाली कामदार
पक्राउ परेको ती नेपालीले बताए ।
अवैधानिक बिदेशी कामदारलाई यसअघि अध्यागमनका
कर्मचारीलेमात्र पक्राउ गर्दै आएकोमा पछिल्लो समय
प्रहरीले समेत पक्राउ गर्ने गरेको छ ।
कोरियामा पछिल्लो समय भिसा अबधि सकेर अबैधानिक बस्ने नेपालीको
संख्या बढ्दो छ । हालसम्म नेपाली अबैधानिक कामदारको संख्या एकिन
तथ्यांक नभए पनि करिब २ हजार नेपाली युवा अबैधानिक रुपमा बसेको
अनुमान गरिएको छ ।

,