ए टीकापुर ! पुलिस र सेनाले निर्ममतापूर्वक हत्या गरेको कथा म कहाँबाट सुरु गरौं ?


नेपालको इतिहास हिंसा नै हिंसाको इतिहास हो | पृथ्बीनारायण शाहले नेपाल एकीकरण गर्दा गरिएको हिंसा अहिलेसम्मकै सबैभन्दा ठुलो मात्रामा भएको हिंसाभित्र पर्दछ | लिम्बुहरुसँग सम्झौताको नाममा निःशस्त्र लिम्बुहरुलाई सशस्त्र गोर्खाली सेनालले लिम्बु सेना नायक काङ्सोरेको निर्मम हत्या गरेका थिए |
गोर्खाली सेनासँग युद्धमा पराजित खम्बुहरुमाथि गोर्खाली सेनाले अत्यन्तै निकृष्ट हिंसा गरेका थिए । यहाँसम्म कि गर्भवती खम्बु महिलालाई ढिकीले कुटेर मारेका थिए | गोर्खाली सेनाले कीर्तिपुरका नेवारहरुको जिउँदै नाक काटेको कुरो त हामी सबैले पढेकै छौं |
राणाकालको हिंसाको त यहाँ कुरा गर्न आवश्यक नै छैन किनभने आफ्नै मामा प्रधानमंत्री तथा कमान्डर इन चिफ माथवरसिंह थापाको निर्ममतापूर्वक हिंसा गरेर वीर नरसिंह कुँवर (जंगबहादुर कुँवर) ले सुरु गरेको राणाकाल हिंसाकै भरमा टिकेको थियो |
तीस वर्षे पंचायत कालका भुक्तभोगी त अहिलेका सत्तासिन दलका नेता अधिकांश अहिले जीवितै छन् | देवानसिङ राई, रत्नकुमार बान्तवादेखि खोकु-छिन्ताङका सहिदहरुलाई मात्र सम्झिए पुग्छ, पंचायत कालको हिंसा बुझ्न |
बहुदलीय प्रजातन्त्रपछिको स्टेट भायोलेन्स (राज्यआतंक) र अन् सिभिलवार (जनयुद्ध) सम्मको हिंसाको चर्चा गर्ने हो भने एउटा महाभारत नै तयार हुन्छ | खोटाङ दिक्तेलका ७ वर्षीय अनिश शाक्य जो घरको झ्यालबाट आन्दोलन हेरिरहेका थिए, पुलिसले आन्दोलनकारीको नाममा उनलाई गोली ठोकेर मार्यो |
२०५२ सालमा गोरखाका १३ वर्षीय दिलबहादुर रम्तेललाई माओवादीको नाममा पुलिसले समातेर गोली ठोकेर मार्यो | माओवादी जनयुद्धको एक दशक लामो कालखण्डभरि राज्यले गरेको राज्य हिंसाको कुरा गर्दा म बेचैन हुन्छु |
पुलिस र सेनाले हिरासतमा राखेका माओवादीहरुको निर्ममतापूर्वक हत्या गरेको कथा म कहाँबाट सुरु गरौं ? कृष्ण सेन इच्छुकको हत्याको कथा सुनाऊँ कि दण्डपाणि न्यौपानेको ?
जनयुद्धमा लागेका महिलाहरुलाई पुलिसले गरेको हत्याको कुरा गर्ने हो भने ती हत्या संसारकै आततायी हिंसाभित्र पर्दछन् | मैना सुनुवारको हत्याको कुरा गर्नुस् वा बलावतीको कुरा गर्नुस् | यहाँसम्म कि पुलिसले समातेर महिलाको योनीभित्र बन्दुकको संगीन घुसारेर मारेको इतिहास त्यति पुरानो भएको छैन |
माओवादीहरुले गरेको हत्या-हिंसाको शृंखला पनि कम छैन | आफ्ना निःशस्त्र विरोधीलाई सरकारी सुराकीको नाममा गरेको हत्या होस् वा ज्यान जोगाउन युद्धमैदानबाट भागेर ओडारमा लुकेका पुलिस र सेनाका जवानहरुलाई हातखुट्टा बाँधेर जिउँदै नदीमा फालेर मारेको कुरा । यो पनि इतिहासले नबिर्सनुपर्ने हो |
वर्तमान उद्योगमंत्री महेश बस्नेतले युवा संघको आन्दोलनको बेला सुरक्षामा खटिएका पुलिसलाई आगो लगाएको घटनालाई जति लुकाए पनि लुक्नेवाला छैन | अब अहिले आएर टिकापुरको घटनालाई मात्र अतिरन्जित गरिँदैछ | इतिहासमा कहिलेकाहीं नघटेको घटना जस्तो गरेर यसलाई उचालिराखिएको छ |
हो, आन्दोलन अहिंसात्मक हुनुपर्दछ | अहिंसात्मक आन्दोलनमा नैतिकबलको प्रभाव बढी हुने भएकाले यो हिंसात्मक आन्दोलनभन्दा बढी प्रभावकारी हुन्छ | तर अहिंसात्मक आन्दोलनलाई हिंसात्मक बनाउने काम चाहिँ राज्यको हिंसात्मक व्यवहारले बनाएको अहिलेसम्मको संसारको इतिहास हो |
अहिले टीकापुरको घटनालाई लिएर राज्य पूरै श्वेत आतंकमा उत्रेको छ | यहाँसम्म कि राज्यको सुरक्षाभित्र बसेर थारु इत्तरका नागरिकहरु थारुको घरमा आगो लगाउँदै हिँडेका छन् | पुलिस र सेनाले निर्दोष थारुहरुलाई समातेर दिएको यातनाले पराकाष्ठा नाघेको छ | समातिएका थारुहरु कति जीवित छन् र कति मारिए, त्यो थाहा हुने अवस्था छैन | राज्य आतंकको भयले थारुहरुको भागाभाग छ |
साँच्चै भन्ने हो भने अहिले टीकापुरमा हाम्रो राज्य साम्प्रदायिक राज्यमा रुपान्तरित भएको देखिन्छ | त्यो टीकापुरमा अहिले थारुहरुलाई बेचैन छ तर थारुइत्तरका पहिचानविरोधीहरुलाई चैन छ |
तत्काल टिकापुरबाट सेना फिर्ता गरेर थारुहरुमाथिको दमन नरोक्ने हो भने अब कोही कसैले चाहेर होस् वा नचाहेर देशको जनमत दुई कित्तामा बाँडिनबाट कसैले रोकेर रोक्न सक्ने वाला छैन |
न्यायप्रेमी जनताको अगाडि मात्र दुई वटा बिकल्प रहने छन्- यथास्थितिवादी ब्राह्मणवादी राज्य कि उत्पीडित जाति, वर्ग, वर्ण, समुदाय, लिङ्गहरुको एतिहासिक प्रगतिशील संघीय राज्य ?
तसर्थ टिकापुरको दमनले केही थारुको घरमा आगो लाग्ला, केही थारुहरु मर्लान् तर बदलामा सिंहदरबारभित्र अड्डा जमाएका कुलिन ब्राह्मणहरुले एकदिन मूल्य चुकाउनुपर्ने छ