रामकुमार श्रेष्ठ | शनिबार, २३ साउन ।
नवलपरासी । नवलपरासीमा एस एल सी को पुरक परीक्षा अन्तरगत शनिबारको विज्ञान विषयको परीक्षामा अर्काको सट्टामा परीक्षा दिदै गरेका ४ जना नक्कली परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उत्तर पुस्तिकाका हस्ताक्षर गर्ने क्रममा शिक्षकले शंका लागि सोधखोज गर्दा उनीहरु नक्कली परीक्षार्थी भएको भेटिएको ईलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक परशुराम तिवारीले बताए ।
पक्राउ पर्नेमा देवचुली उच्च माविबाट परीक्षा दिन आएका सन्तोष श्रेष्ठ, घनश्याम महतो, विशाल सुनार र सुजन राना रहेका छन् । मनु शाहीको नाममा सन्तोष श्रेष्ठ, हिमाल महतोको नाममा घनश्याम महतो, आशिस काफ्लेको नाममा विशाल सुनार र सुसेन सेनठकुरीको नाममा सुजन रानाले परीक्षा दिएका थिए ।
पक्राउ पर्ने ४ जना देवचुली उच्च माविमा +२ मा अध्ययनरत विद्यार्थी रहेको बताइएको छ । पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय नवलपुरमा राखिएको नवलपरासीका जिल्ला शिक्षा अधिकारी खड्गबहादुर कमालले बताए ।
प्रहरी नावय उपरीक्षक परशुराम तिवारीले जिल्ला शिक्षा अधिकारीसंगको सल्लाहामा दोषीलाई कारवाही प्रक्रिया अगाडि बढाइने बताए । त्यस्तै जिल्ला शिक्षा अधिकारी कमालले उच्च मावि शिक्षा परिषदको निर्देशिकामा उल्लेख भए अनुसारको कारवाही हुने बताए ।
सहायक जिल्ला शिक्षा अधिकारी एवम् परीक्षा शाखाका प्रमुख हेमराज अर्यालले पुरक परीक्षा दिने ४ जनाको यस वर्षको परीक्षा रद्द गरिने समेत बताए ।
