जायज र न्यायोचित सुझाव समावेश गरिने
दैनिक नेपाल २०७२ साउन २७ गते १५:३४
काठमाडौँ, २७ साउन । प्रमुख चार राजनीतिक दलले सीमा
निर्धारणलगायतका महत्वपूर्ण पक्षमा जनताबाट आउने न्यायोचित सुझावलाई स्थान
दिने निष्कर्ष निकालेका छन् ।
नयाँबानेश्वरस्थित संविधानसभा भवनमा बसेको चार दलका शीर्ष नेताको
बैठकले संविधानको मस्यौदामा केन्द्रित भएर सुझाव आइरहेको हुँदा उपयुक्त
सुझावलाई विभिन्न चरणमा सम्बोधन गर्न सकिने नेकपा(एमाले)का अध्यक्ष
केपी शर्मा ओलीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “न्यायोचित र तर्कपूर्ण सुझावलाई ग्रहण गरेर स्थान दिन
हामी तयार छौँ, छलफल चलिरहेको छ । मङ्गलबारै संयुक्त वक्तव्य
जारी गरेर आग्रह गरिएको छ । संविधानसभाबाट पनि सुझाव आएको छ ।
सबै सुझावको उचित सम्बोधन गरिन्छ ।”
जनताबाट आएका जायज सुझावलाई आआफ्नो माध्यमबाट केन्द्रमा ल्याउने व्यवस्था
मिलाइएको नेताहरुले बताउनुभएको छ । बैठकमा सीमा निर्धारणपछि
मुलुकका विभिन्न स्थानमा उत्पन्न परिस्थितिका बारेमा विश्लेषण गर्नुका साथै
आगामी कार्यदिशाका सन्दर्भमा गहन छलफल भएको थियो ।
नेताहरुका अनुसार ६ प्रदेशको सीमांकन परिमार्जनमा जताततैबाट दबाब
आएकाले आवश्यकता अनुसार २ थपेर ८ प्रदेश सम्म बनाउन सकिनेमा पुर्नविचार
गरिने भएको छ । प्रदेश कहाँ बढाउने भन्ने विषयमा थप छलफल हुने बताइएको छ
।
बैठकमा नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा
(एमाले)का अध्यक्ष ओली, एकीकृत नेकपा
(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, मधेसी
जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारको
सहभागिता रहेको थियो । रासस
