सबैलाई दिपावली गर्न एमालेको निर्देशन


भदौ ३० । असोज ३ गते संविधान जारी गर्ने मिति तय भएपछि नेकपा एमालेले असोज ३ गते बेलुकी देशभर दीपावली गर्ने निर्णय गरेको छ । बुधबार बसेको सचिवालयको बैठकले त्यस दिन धुमधामसँग दीपावली गर्ने निर्णय गरेको हो । उक्त राष्ट्रिय एकता र हर्सौल्लास गरिने महत्वपूर्ण दिनभएकाले आम नागरिकहरुमा विजयको सन्देश दिनका लागि दीपावली गर्ने निर्णय गरेको हो ।
एमालेले असोज ३ गते पार्टी कार्यालय तथा आ–आफ्ना घरमा दिपावली गर्न सबैलाइ आह्वान समेत गरेको छ । एमालेले असोज ४ गते विभिन्न संघ–संस्था, पार्टी र नागरिक समाजसँग सहकार्य गरी संयुक्त रुपमा जुलुस, र्याली, छलफल, अन्तरक्रिया र गोष्ठीजस्ता रचनात्मक कार्यक्रम आयोजना गर्न सबै स्वदेश तथा विदेशमा क्रियाशील संगठनहरुलाई निर्देशन दिएको छ ।
संविधानको घोषणा तमाम शोषित पीडित जनता, मजदूर तथा पेशाकर्मी, किसान, उद्यमी–व्यवसायी, बुद्धिजीवी, महिला, युवा, विद्यार्थी, विभिन्न जात–जाति, दलित, उत्पीडित, मधेसी, मुस्लिम, थारु तथा सम्पूर्ण अल्पसंख्यक समुदायलगायत विभिन्न धर्म र संस्कृतिमा आस्था राख्ने आम नेपालीहरुको ऐतिहासिक विजयको घोषणा भएको भन्दै एमालेले यस बिन्दुसम्म आइपुग्न भूमिका निर्वाह गर्ने प्रमुख राजनीतिक दलका नेताहरु, संविधान सभाका अध्यक्षसहित सबै माननीय सदस्यहरु र सम्बद्ध सबैलाई धन्यबाद समेत दिएको छ ।