हिन्दू राष्ट्र नेपाल बनाउने प्रस्ताव संविधानसभामा अस्वीकृत


काठमाडौँ, २८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हिन्दू राष्ट्र नेपाल हुनुपर्ने भन्दै संविधानसभाको बैठकमा प्रस्तुत गरेको संशोधन प्रस्ताव अस्वीकृत भएको छ ।
राप्रपा नेपालको तर्फबाट थापाले राखेको हिन्दु राष्ट्र नेपाल बनाउनुपर्ने संशोधन प्रस्ताव ध्वनी मतबाट अस्वीकृत भएको हो ।
संविधानसभाको बैठकमा आफ्नो प्रस्ताव अस्वीकृत भएपछि राप्रपा नेपालका अध्यक्ष थापाले मत विभाजनको माग गरेका थिए ।
संविधानसभाको नियम अनुसार मत विभाजनका लागि ६१ सभासद् आवश्यक पर्छ । तर, थापासँग २१ मात्र सभासद् भएकाले थापाले मत विभाजन गर्नका लागि गरेको माग संविधानसभाले सुनुवाई नगरेपछि हिन्दू राष्ट्र नेपाल हुनुपर्ने संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको हो ।