फोरम लोकतान्त्रिक संविधानसभामा फर्कने संकेत


काठमाडौँ, ३० भदौ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले संविधान निर्माणमा सहभागी हुने संकेत गरेको छ ।
नेपाली कांग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष नेतासमक्ष चारबुँदे सर्त राख्दै फोरम लोकतान्त्रिकले संविधानसभाको प्रक्रियामा फर्कने संकेत गरेको हो ।
शीर्ष नेता संविधानसभामा नयाँ संविधानको विधेयकमाथि मतदान भइरहेको समयभित्रमै मधेसवादी दललाई संविधान निर्माण प्रक्रियामा सहभागी गराउन क्रियाशिल छन् । यही सक्रियताको बीचमा विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक सँगको छलफलमा लोकतान्त्रिकले संविधानसभामा फर्कने संकेत गरेको हो ।
प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फोरम लोकतान्त्रिकका नेतासँग फोनमा संविधानसभामा आउन आग्रह गरिरहेका छन् । फोरम लोकतान्त्रिकका नेताले संविधानसभामा आउने चाहना भएको तर चार बुँदे माग सम्बोधन भए मात्र संविधानसभामा प्रवेश गर्ने अडान लिएको एक नेताले जानकारी दिए ।
फोरम लोकतान्त्रिकले सीमांकन फेरबदल गर्नुपर्ने, समानुपातिक समावेशी सुनिश्चित गर्नुपर्ने, निर्वाचन क्षेत्र निर्धारण अन्तरिम संविधान अनुसार हुनुपर्ने, प्रदेशमा कामकाजको भाषा स्थानीय भाषा राख्न पाउने जस्ता चार बुँदे माग अघि सारेको छ ।
फोरमक लोकतान्त्रिकका नेताहरुले चार बुँदे माग सम्बोधन भए तत्काल संविधानसभामा जाने तर माग सम्बोधन नभए लुरुलुरु संविधानसभामा नजाने अडान लिएका छन् ।