टिकापुरमा बोलेकै हो, हिम्मत भए कारबाही गरेर
देखाऊ
-राजेन्द्र महतो, अध्यक्ष, सद्भावना पार्टी
कैलालीको टिकापुरमा आयोजित सभा ऐतिहासिक
रुपमा भब्य र सफल भएको थियो । हजारौं जनता
सहभागी भएका थिए । तर त्यति ठूलो सभालाई नेपालका
कुनै पनि मूलधारका मिडियाले कभरेज गरेनन् । नेपालका
मिडिया पूर्णतः पूर्वाग्रही भए । तर हुँदै नभएको, बोल्दै
नबोलेको कुरालाई बाहिर ल्याए । त्यहाँ हामीले गरेको
अडियो टेप गृहमन्त्रीले संसदमा बुझाए ।
हामीले टीकापुरमा विखण्डनवादी, साम्प्रदायिक
भाषण गर्यौं भन्ने आरोप लगाइयो । हामीले त्यहाँ
बोलेको कुरा चाहिँ के हो भने विगतकै आन्दोलनबाट
प्राप्त भइसकेको उपलब्धी चार दलले बनाएको
संविधानको मस्यौदामा खोसिएको छ । मधेसी
जनताको अधिकार खोसिएको छ । अन्तरिम संविधानले
दिएको अधिकारसमेत नयाँ संविधानमा नहुने भयो । यो
प्राप्त गर्न फेरि एक पटक आन्दोलन गर्नु पर्ने भयो ।
आफ्नो अधिकारका लागि आन्दोलन गर्न तयार हुनुहोस्
भनेर हामीले जनतालाई भन्यौं । जनतालाई आन्दोलनका
लागि आह्वान गर्ने कुरा बोलेकै हो । यदि अधिकार
प्राप्तिका लागि गरेको आह्वान विखण्डनवादी हुन्छ
भने, साम्प्रदायिक हुन्छ भने होस । हामीले बोलेकै हो,
हिम्मत भए गृहमन्त्रीले कारवाही गरेर देखाउन् ।
मधेसको भूभाग पहाडमा मिसाउने गरी गरिएको
सीमांकन हामीलाई मान्य हुँदैन । झापादेखि
कञ्चनपुरसम्मको भूभाग मधेसको हो । तराइमा एउटा मधेस
प्रदेश हुन्छ । त्यो झापादेखि पर्सासम्मको र अर्को
नारायणीदेखि कञ्चनपुरसम्मको थरुहट हुन्छ । तराईमा हुने
यी दुई प्रदेश मात्रै हुन् । उत्तरतर्फको चुरेसम्मको क्षेत्र सबै
मधेसको हो । लिम्बुवान चाहिनेले झापा मोरङको
पहाडी भाग लैजान्छन् । चुरे तलको भाग मधेस प्रदेशमा
गाभिनु पर्छ । कैलाली कञ्चनपुरलाई अखण्डबाट झिकेर
थरुहटमा मिसाउनु पर्छ । किनभने त्यस क्षेत्रका जनताले
त्यही खोेजेका छन् । पचास वर्ष अघि पहाडबाट पश्चिम
तराईमा झरेर थारुहरुलाई कम्लरी बनाउनेहरुकै फेरि पनि
शासन हातमा गयो भने कसरी थारुको मुक्ति हुन्छ ? बाँके
बर्दियाका जनताले रुकुम, रोल्पा गएर आफ्नो राज्य
खोज्न सक्दैनन् । यो हुन सक्दैन ।
हामीले खोजेजस्तो प्रदेश दिनु पर्छ । त्यस्तो भयो भने
मधेसको दुईवटै प्रदेश सामथ्र्यवान हुन्छन् । हामीले प्रदेश
मागिरहेका छौं । तर यी चार दलले देश माग्यो,
विखण्डनकारी कुरा गर्यो भनेर हल्ला गरिरहेका छन् । सबै
प्रदेशलाई भारतसँग जोडने गरी प्रदेश निर्माण गरिएको छ
। वास्तवमा विखण्डनकारी काम त चार दलले गरिरहेका
छन् । भारतसँग सीमा किन जोड्नु पर्यो ? के यो छुट्टै देश
बनाएको हो र भारतसँग सीमा जोड्नु पर्ने ? संविधानको
मस्यौदा प्रतिगमनकारी छ । नेपाली समाजलाई पचास
वर्ष पछाडि धकल्ने मस्यौदा बनेको छ । प्रतिगमनको
विरुद्ध राजा ज्ञानेन्द्रसँग लड्यौं । अहिले फेरि यी चार
दल चार वटा राजा भएर देखा पर्न खोज्दैछन् ।
मौद्रिक नीति, विदेश नीति, सुरक्षाबाहेक अधिकार
प्रदेशलाई हुनुपर्छ । तर अहिलेको मस्यौदाले प्रदेशलाई
जिल्ला विकास समितिलाई जति पनि अधिकार
दिएको छैन । यस्तो संघीयता हामीले खोजेको होइन ।
सुरुमा हामीले सीमांकनसहितको संघीयता भन्यौ ।
अहिले सीमांकन त भयो तर गलत तरिकाले भयो । हामीले
समावेसी समानुपातिक प्रतिनिधित्व खोजेका थियौं ।
अहिले समावेसी मात्रै बनाइयो । समानुपातिक छैन ।
तराईमा आधा जनसंख्या बस्छ । तर १६५ सिटमा ६५ सिट
पनि तराईलाई छैन । एकात्मकवादी, खसवादी, केन्द्रीकृत
राज्यप्रणालीबाट उत्पीडनमा परेका जनताको मुक्ति
भएन । अधिकारसहितको संघीयता नभएसम्म हाम्रो
आन्दोलन जारी हुन्छ । माग पुरा नभएसम्म तराईमा
अनिश्चितकालीन आमहडताल चलिरहन्छ । मधेसी जनताले
अधिकारका लागि रगत बगाएका छन् । रगत खेर जान
दिनेछैनौं ।
(कुराकानीमा आधारित)
