राजनीतिक प्रयासबाट सहमति नजुटे मतदान प्रक्रियामा
जाने
दैनिक नेपाल २०७२ भदौ १ गते १९:४५
काठमाडौं, १ भदौं । राजनीतिक सहमति तथा सम्वाद समिति
अन्तर्गतको उच्चस्तरीय राजनीतिक विशेष समितिको बैठकले
आज पनि विवादित विषयमा सहमति जुटाउन सकेन् ।
संविधानका विवादित विषय सीमांकन, थ्रेसहोल्ड, धर्म
निरपेक्षता लगायतमा सहमति जुटाउन मंगलबार सिंहदरबारमा
बसेको समितिको बैठक विना निष्कर्ष टुङ्गिएको हो ।
बैठकबाट बाहिरिँदै सम्वाद समितिका सभापति डा. बाबुराम
भट्टराईले प्रदेशको सीमांकनमा छलफल भएपछि टुङ्गो लाग्न
नसकेको बताउनुभयो । ‘हामीले संघीयताको सीमांकनका
बारेमा गम्भीर छलफल गर्यौं, सहमति नजिक पुगेका छौं,
भोलीसम्म टुङ्गो लाग्छ ।’
उहाँले विभिन्न समुहको मागलाई सम्बोधन गर्न आफूहरु तयार
रहेको बताउँदै आन्दोलनलाई आक्रामक नबनाउन आग्रह गर्नुभयो ।
‘अन्य विवादित विषय थ्रेसहोल्ड, धर्मनिरपेक्षता राजनीतिक
प्रयासबाट सहमतिको प्रयास जारी छ, यदि सफल नभएमा
संविधानको प्रक्रिया अनुसार टुङ्गो लगाइन्छ ।’
उहाँले राजनीतिक प्रयासबाट सहमति नजुटेमा मतदान प्रक्रिया
बाट टुङ्गो लगाउने संकेत दिनुभयो । बैठकबाट बाहिरिँदै कांग्रेस
उपसभापति रामचन्द्र पौडेलले आफूहरु आन्दोलनबाट आएका
मागहरु सम्बोधन गर्न तयार रहेको बताउँदै विभिन्न आन्दोलनको
माग के हो भन्ने बारेमा आफूहरुलाई थाहा नभएको बताउनुभयो ।
‘आन्दोलनको माग के हो भन्ने नै हामीलाई थाहा छैन्, कसरी
सम्बोधन गर्ने ?’ उहाँले भन्नुभयो ।
उहाँले राजनीतिक तहबाट माग सम्बोधनको पहल भइरहेकाले
आफ्ना माग प्रष्ट पार्न आग्रह गर्नुभयो ।
