मध्यरातमा के के भयो बालुवाटारमा ? दही च्युरा खाएर नेता उठे

मध्यरातमा के के भयो बालुवाटारमा ? दही च्युरा खाएर नेता उठे
थारु र गच्छदारलाई फकाउन तीन दल असमर्थ
विमल योगी २०७२ असोज १ गते १:५८
काठमाडौं, १ असोज । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई संविधानसभामा ल्याउन प्रमुख तीन दलले गरेको प्रयास शुक्रबार मध्यरात एकाएक तुहिएको छ ।
बिहीबार बेलुका करिव पाँच बजेदेखि शुक्रबार बिहान सवा एक बजेसम्म प्रधानमन्त्री निवास बालुवाटारमा भएको गच्छदारसँगको वार्तामा कांग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरुले प्रयास गरेका थिए । वार्ता सहमतिको नजिक पुगेपनि अन्तिम समयमा ठोस सहमति विनै सक्किएको हो ।
बैठकपछि एमालेका उपाध्यक्ष भीम रावलले विजय गच्छदारको फोरम लोकतान्त्रिक र अन्य थारु आन्दोलनकारीसँग भएको वार्ता ठोस सहमतिमा पुग्न नसकेको बताउनुभयो । ‘विजय गच्छदारजी र अन्य थारु आन्दोलनकारीका माग संघीय आयोग, प्रादेशिक सिमाङ्कन तथा जिल्ला, भूगोल र जनसंख्यालाई ध्यानमा राखेर पछि पूरा गरिनेछ’, उहाँले भन्नुभयो, ‘निकट भविष्यमा हुने वार्तामा उहाँहरुसँग सहमति हुन्छ ।’
उपाध्यक्ष रावलले राजनीतिक सहमतिबाट आन्दोलनरत समूहको माग पूरा गरिने उल्लेख गर्नुभयो ।
बैठकपछि फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले भने पत्रकारसँग बोल्न मान्नुभएन । पत्रकारले चारैतिरबाट गच्छदारलाई घेरा हालेका थिए । तर उहाँले केही नबोल्ने भन्दै आफ्नो गाडीमा चढ्नुभएको थियो ।
कांग्रेसका नेताहरुले पनि पत्रकारहरुसँग बोल्न रुचाएनन् । एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पत्रकारसँग कुरा गर्न आए पनि पत्रकारहरु गच्छदारको पछि लागेर गएपछि श्रेष्ठले बोल्न पाउनु भएन ।
यसअघि प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरुले थारुवान, थारु संयुक्त संघर्ष समितिसँग वार्ता गरेका थिए । तर वार्ताको वीचमै वार्ता टोलीका सदस्य राजकुमार लेखी वार्ताको वातावरण नबनेको भन्दै रिसाएर बाहिरिनु भएको थियो । लेखी बाहिरिएपछि थारु वार्ता टोलीका बाँकी १२ जना सदस्य केही समयपछि आफ्ना धारणाहरु राखेर बाहिरिएका थिए ।
प्रधानमन्त्री सुशील कोइरालाले शीर्ष नेताहरुसहितको वार्ताका क्रममा थारु आन्दोलनकारीले उठाएका जायज मागलाई सरकार मान्न तयार रहेको प्रतिवद्धता जनाउनुभएको थियो । तर लेखी बाहिरिएका कारण थारु वार्ता टोलीले ठोस सहमति नगरेर बाहिरिएको थियो ।
सरकार र तीन दलका प्रमुख नेताहरुसँग वार्ता गर्न र समाधान निकाल्न थारु संघर्ष समितिले धनीराम चौधरीको संयोजकत्वमा १३ सदस्यीय टोली गठन गरेर बालुवाटार पुगेको थियो ।
तीन दलका शीर्ष नेताहरुको बैठक चलिरहेको बलो केही समय एमालेका अध्यक्ष केपी ओली र उपाध्यक्ष विद्या भण्डारी राष्ट्रपतिसँग भेट गर्न शीतल निवास पुग्नुभएको थियो । राष्टपतिसँगको भेटपछि ओली भण्डारी थारु वार्ता टोली फिर्ता भएको केही सयमपछि बालुवाटार भित्रनु भएको थियो ।
यसैबीच, उच्च स्रोतका अनुसार फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदार र तीन दलका शीर्ष नेताहरुवीच संविधानसभामा फिर्ता हुने र अब बन्ने नयाँ सरकारमा सहभागी हुने विषयमा मोटामोटी सहमति भएको छ । सो सहमतिमा शक्तिबाँडफाँटको विषयमा आन्तरिक रुपमा टुङगो लगाएर सहमति सार्वजनिक गर्ने भद्र सहमति भएको बुझिएको छ ।